काठमाडौं, साउन २८ –अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । कसैले प्रमाणित गरे पदमा नबस्ने समेत उनले बताए ।
आज नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए ।
‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’ डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसोभए जे उहाँले राख्नुभयो, त्यो उचित हो ? ’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।
अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’
यदि आफूले लोभलालच राखेको भए कर निर्धारण अनेक गर्नसक्ने भन्दै उनले त्यस्तो नगरेको बताए । तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा. महतले असन्तुष्टि जनाए ।
डा. महतले सांसद सुनिल शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन्’, उनले भने ।
तपाईको बिचार