काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमतालहहरुको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएका छन् ।
सोमबार ललितपुरको हिमालय होछलमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मन्त्री हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताए । उनले यिनै समस्या समाधानका लागि सरकारले संसदबाट जलश्रोत विधेयक चाँडै पारित गर्ने तयारी गरेको बताए ।
जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै जलश्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरी नेपालका जलश्रोतको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने जिकिर गरे ।
मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्युनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताए ।
सोही कार्यक्रमको दोश्रो सत्रमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्धारा संचालित बाटलसेट परियोजना अन्तर्गत रंगुन जलाधार क्षेत्रको सिकाईहरुका बारेमा सरोकारबालाहरुको अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । रुडुकका राष्ट्रिय निर्देशक डा. कृष्ण कुमार श्रेष्ठज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा जलाधार परियोजनाको कार्यान्वयनका सन्दर्भमा अक्सफामका कार्यक्रम व्यवस्थापक राजन सुवेदीले प्रस्तुतीकरण गरेका थिए साथै रंगुन जलाधार क्षेत्रको संभावना र चुनौतिहरुका बारेमा परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीले जानकारी गराएका थिए साथै नगर प्रमुख जोशीले उक्त जलाधार क्षेत्र अन्तर्गत समुदायहरुका व्यक्तिहरु, स्थानीय तह तथा विभिन्न साझेदार निकायहरु मिली बृक्षारोपणका अभियानहरु, पानिका शुद्धता मापन कार्य र पानिको बहुउपयोगिताको सम्वन्धमा जल यात्रा कार्यक्रम संचालन गरिएको बारे जानकारी प्रदान गरेका छन ।
तपाईको बिचार