काठमाडौं- ओपनर शिखर धवनको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनायो ।
कर्णालीका ओपनर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । धवनले ४२ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । योसँगै धवन प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ ब्याटर बने ।
८४–५ को स्थितिबाट धवनले जिसान मक्सुदसँग ६५ रनको साझेदारी गर्दै कर्णालीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका हुन् । धवनसँगै अविजित रहेका मक्सुदले ११ बलमा एक चौकासहित १४ रन बनाए ।
चान्डविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन जोडे । वाल्टनलाई काठमाडौंका गेरहार्ड इरास्मसले चौथो ओभरको पाँचौँ बलमा करण केसीबाट क्याच आउट गराएका थिए । बाबर हायात र गुल्सन झाले क्रमशः १३ र १२ रन बनाए ।
तपाईको बिचार