काठमाडौं – नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएकी छन । प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रिय समिति सदस्य समेत रहेकी डा. देउवा पहिलो चोटी मन्त्री भएकी हुन ।
डा. राणाको जन्म २०१८ माघ १३ गते बिनोद शम्शेर जंङ्ग बहादुर राणा र प्रतिभा राणको जेष्ठ छोरीको रुपमा ललितपुरमा भएको थियो । प्रारम्भिक शिक्षा काठमाडौबाट लिएकी डा. देउवाले सन् १९७८ मा सिनियर क्याम्ब्रिज सेन्ट मेरी हाई स्कूलबाट ओ लेबल उतिर्ण गरेकी थिइन । त्यस्तै सेन्ट बेडे कलेज, हिमाचल, भारतबाट मनोविज्ञानमा अंग्रेजी र फ्रान्सेलीमा स्नातक, पञ्जाब विश्वविद्यालय चण्डीगढबाट मनोविज्ञानमा स्नातकोत्तर र सन १९९० मा पंजाव विश्वविद्यालयबाट संगठनात्मक मनोविज्ञानमा विद्यावारिधि गरेकी छन ।
बि.सं.२०५२ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता प्राप्त गरेकी डा. देउवा २०६१ साल यता निरन्तर नेपाली काँग्रेसको महासमिति सदस्य रहदै आएकी छन । २०७८ मंसिरमा सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित डा. देउवा २०६४, २०७० र २०७९ गरी तिन पटक संसदमा प्रतिनिधित्व गरिसकेकी छन । २०७९ सालमा समानुपातिक तर्फबाट सांसद रहेकी देउवा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापति समेत हुन भने उनीसंग समाजवादी अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएर समेत काम गरिसकेको अनुभव रहेको छ ।
डा. देउवाले विभिन्न शैक्षिक संस्थाहरुमा आबद्ध भएर नेपालको शैक्षिक क्षेत्रको बिकासका लागि पनि महत्वपुर्ण भुमिका खेलेकी छिन । युलेन्स, नामी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को व्यवस्थापनमा रहेकी उनीसंग नेपालको सामाजिक क्षेत्रमा ३५ बर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ ।
आफ्नो अध्ययन पुरा गरी २०४६ सालमा नेपाल फर्किए संगै सामाजिक क्षेत्रमा काम गरेकी डा. देउवा नेपालको महिला सशक्तिकरण काम गर्नेहरुमा अग्रस्थानमा आउने गर्दछीन । पश्चिम नेपालको महिलाहरुको सशिक्तकरण, आर्थिक तथा क्षमता विकासको क्षेत्रमा लामो समय काम गरेकी देउवासंग आइसियुन को क्षेत्रिय काउन्सिलर, महात्मा गान्धी इन्स्टिच्युट फर एजुकेशन अन पिस एन्ड सस्टेनेबल डेभलपमेन्टको काउन्सिल सदस्य, साथी संस्थाको संस्थापक, सुरक्षित मातृत्व संञ्जाल महासंघ नेपालको संस्थापक अध्यक्ष, सामाजिक र लैङ्गिक मुद्दाहरूको लागि समनाता–इन्स्टिच्युटको कार्यकारी अध्यक्ष तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र, (रुडुक) को संस्थापक अध्यक्ष भई काम गरेको अनुभव रहेको छ ।
काँग्रेस सभपाति शेर बहादुर देउवाको धर्मपत्नी सहित रहेकी डा. देउवाले पति शेर बहादुर देउवाको राजनितिलाई यस उचाई सम्म पुर्याउनका लागि महत्वपुर्ण भूमिका खेलेकी छीन । परराष्ट्र मामीलामा राम्रो जानकार राख्ने डा. देउवा छिमेकी मुलुकहरुसंगको सन्तुलन कायम गर्न सक्ने क्षमता भएर यस पटक प्रधानमन्त्री के.पी.शर्मा ओली स्वयंले परराष्ट्रमन्त्री बनाउन चाहेका हुन ।
तपाईको बिचार