नयाँदिल्ली, भाद्र ६ — भारतको चन्द्रयान–३ बुधबार साँझ (अगस्ट २३) ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा टेक्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको मंगलबार जनाएको हो । सबै सिस्टमलाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम गरिरहेको इसरोको भनाइ छ ।
अहिले अनुमान गरिएको समयमा चन्द्रयान–३ विक्रमलाई अवतरणमा कुनै समस्या आए त्यसको ल्यान्डिङ समयलाई अगस्ट २७ पुर्याइने इसरोले जनाएको छ । यस विषयको अन्तिम निर्णय भने बुधबारलाई निर्धारित अवतरणको समयभन्दा दुई घण्टा पहिले लिइनेछ । भारतले चन्द्रमा मिसनका लागि २०२३ जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो । चन्द्रमाको कक्षसम्म पुग्ने लक्ष्य लिएर यान पठाइएको थियो ।
भारतले चन्द्रयान–३ पठाएको करिब एक महिनापछि रुसले ११ अगस्टका दिन लुना–२५ अन्तरिक्ष यानलाई चन्द्रमातर्फ पठाएको थियो । भारत भन्दा तीव्र रफ्तारका साथ छिटो अवतरण गर्ने लक्ष्य रुसी यानको थियो । भारत र रुसको चन्द्रमा मिसन एकैसाथ अन्तरिक्षमा सुरु भएपछि एक प्रकारले प्रतिस्पर्धा नै मानिएको थियो । तर, लुना–२५ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।
तपाईको बिचार