काठमाडौं, भदौ ५ – सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार ९हिजो० बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।
सोही जिम्मेवारी अनुसार आफूहरूले त्यसको मस्यौदा तयार पारेको र अब केही समयपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध हुँदै आएको थियो ।
हिजो सोमबार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरूले त्यसको मस्यौदा तयार पार्न कार्यदलनै गठन गरेका थिए । अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद् बैठक सुचारु हुने नेताहरूले बताएका छन् ।
तपाईको बिचार