काठमाडौं, भदौ १ – सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उनीहरुलाई बिहिबार राति पक्राउ गरिएको हो । प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन तर हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर विभागले संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी लाई दिएको थियो ।
प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ । उक्त ब्रेक शु बाट सुन निकाल्दा ६० किलो निस्किएको थियो ।
तपाईको बिचार