काठमाण्डौ, साउन २० – क्रिकेटर सन्दीप लामिछाने आवद्ध सर्रे जागुअर्स ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो क्वालिफायरमा सर्रेले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
जितको लागि पाएको १ सय ४० रनको लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो । नाइट्सका लागि फबिएन एलेनले २० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रनको योगदान दिए । सर्रेका लागि तीव्र गतिका बलर म्याथ्यु फोर्डले २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इफ्तिखर अहमदले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाए । नाइट्सका लागि तीव्र गतिका बलर जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक विकेट लिए ।
फाइनल खेल आइतबार हुनेछ । दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स र नाइट्सबीच आज राती प्रतिस्पर्धा हुनेछ ।
तपाईको बिचार