डडेल्धुरा , साउन १७ – शहीद भीमदत्त पन्तको ७१ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा डडेल्धुराको बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानले जनाएको छ ।
जमिन्दार र सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गरेका उनले ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा आवाज बुलन्द पारेका थिए ।
अन्याय र सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलन शुरुवात गरेको लेखक तथा प्राध्यापक कल्याण ओझाको पुस्तक ‘शहीद भीमदत्त पन्त’मा उल्लेख छ ।
गरीब दलित जनजाती किसानहरुलाई संगठित गरेर राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्त सक्रिय रहेका थिए । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनी राणासँग मिलेर बनाएको सरकारको विरोध गरे ।
परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित, मगर र थारुहरु संगठित गरी मुक्ति सेना गठन गरे । किसानहरुलाई बेदखल गर्ने, जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरुलाई कारबाही गर्न थाले । दलितहरुको घरमा खाना खाएर उनले छुवाछूत अन्त्य भएको घोषणा गरेका थिए । उनको सम्मानमा कञ्चनपुरको महेन्द्रनगरलाई ‘भीमदत्त नगर’ नामकरण गरिएको छ ।
१९८३ मंसिर १० गते अमरगढी नगरपालिकाको कारीगाउँमा जन्मिएका भीमदत्त पन्तको २०१० साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमानामा पर्ने गल्लेख भन्ने ठाउँमा हत्या भएको थियो ।
तपाईको बिचार